प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रतिनिधिहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अघि बढाएकी छिन् । प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार, आगामी सोमबार सम्म शपथ गर्नेगरी चार जना नयाँ मन्त्री नियुक्त हुन लागेका हुन् । प्राप्त जानकारी अनुसार, मन्त्रीहरूको नाम टुंगो लागिसकेको छ । जसमध्ये जेनजीहरूको प्रतिनिधित्व गरेर नयाँ मन्त्री हुनेहरूमा टासी ल्हाजोम लाई बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तय भएको छ । टासी ल्हाजोमको बारेमा आजको यो पुरा एपिसोड भएको हुँदा विस्तारमा कुरा गरौं टासीको बारेमा ।
हुम्लाको लिमि भ्यालीस्थित नाम्खा गाउँपालिकामा जन्मिएकी उनी जलवायु परिवर्तनको मुद्दामा पैरवी गर्ने गर्छिन् । आफू जन्मेको गाउँमा परेको दु:खलाई हेर्दै उनले काठमाडौंमा गैर सरकारी संस्थाको सहयोगमा पढ्दैगर्दा यो मुद्दामा बोल्न थालेकी थिइन् । टासीले भारतस्थित दिल्ली विश्वविद्यालयको हिन्दु कलेजबाट स्नाताक तह अध्ययन गरेकी छन्। त्यस्तै, जेनजी आन्दोलनमा भाग लिएका अन्य युवाहरूलाई प्रधानमन्त्रीको सचिवालयमा राख्नेगरी तयारी भएको पनि स्रोतले बतायो ।
तेस्रोपटक विस्तार हुन लागेको मन्त्रिपरिषद्मा मन्त्री बन्ने चर्चा भएकी टासी ल्हाजोम विवादमा तानिएकी छन् । सोमबारसम्म विस्तार गर्ने तयारी भएको मन्त्रिपरिषद्मा टासी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने समाचार प्रकाशित भएका थिए । मन्त्री बन्ने सूचीमा उनको नाम आएपछि उनी विवादित बनेकी हुन् । विवादमा एकछिनमा प्रवेश गरौंला तर पहिला टासीको बारेमा केही जानकारी तपाई हामीले जान्न र बुझन जरुरी छ ।
सन् २०१३ को कुरा हो। टासी ल्हाजोमले आफ्नो पुर्ख्यौली गाउँ हुम्लाको हल्जीमा व्यापक हिमबाढी आएको थाहा पाइन्। आमाबुबाकै मुखबाट सुनेको हिमत्रासदीको घटनाले उनको मनोदशा खल्बल्याइदियो। कर्णालीका विभिन्न उपशाखा नदीहरूको किनारमा रहेको लिमी उपत्यकामा बाढी आएको सुनेकै थिइनँ,' उनले चकित हुँदै त्यति बेलाको घटना सुनाइन्,पानी नै नपर्ने गाउँमा कहाँबाट बाढी आयो भनेर म आश्चर्यमा परेको थिएँ। अझ आश्चर्यको कुरा बाँकी नै थियो, उनले विपत्तिबारे थाहा पाउँदा बाढी आएको दुई वर्ष बितिसकेको थियो। उनी बालखैमा गाउँ छाडेर राजधानी सहर काठमाडौं आएकी थिइन्। यहीँ उनको शिक्षाको जग बस्यो। टुल्कु अवतारी लामा ले शिक्षाको टुकी जगाइदिँदा टासीले लिमी बाहिरको संसारसँग चिनापर्ची पाइन्। त्यस अतिरिक्त देशको सामाजिक, आर्थिक तथा राजनीतिक परिवेश र मनोदशाबारे पनि धेरथोर जान्ने मौका पाइन्। काठमाडौंको मिडिया चेतना, तिनले पस्कने तात्तातो खबर र त्यसबाट सुसूचित हुने जमातबारे पनि उनलाई अलि अलि थाहा भयो।
चट्याङझै बज्रन आइपुग्ने बर्खामाससँगै पहाडै विपत्तिमा बगेको, पहाड भत्किएर बस्ती नै खोलामा अलप भएका समाचारले उनको मथिंगललाई नराम्रोसँग बिथोल्थ्यो। समाचारको भीडभाडमा काठमाडौं छेउछाउका बस्ती पनि नहुने होइनन्। कहिलकाहीँ त मध्य सहर पनि व्यानर समाचारमा आउँथ्यो। एकझर पानीले जमल जलमग्न भएको, पुतलीसडक जलमय बनेपछि सवारी साधन नै पथान्तरण गर्नुपरेको समाचार पनि उनी सुन्थिन्।
ती समाचारमा उनले कहिल्यै हुम्लाको तस्बिर र त्यहाँको दुर्दशा देख्दिनथिन्।
हुम्लाबाट समाचार किन पर छ होला भनेर आफैभित्र प्रश्न उठिरहन्थ्यो, उनी अहिले सम्झन्छिन्। हुम्ला समाचारको धारबाट कतिसम्म पर थियो भने, सन् २०११ मा आएको बाढीको खबर टासीले दुई वर्षपछि थाहा पाएकी थिइन् भने काठमाडौंको मूलधारका मिडियाले दुई वर्षपछि पनि थाहा पाएका थिएनन्। मिडियाले थाहा नपाएकोबारे जिज्ञासा छँदै थियो, त्योभन्दा ठूलो कुतूहलताचाहिँ गाउँमा कसरी बाढी आयो भन्ने भयो, उनले भनिन्। सन् २०११ को भीषण भेलबाढी मात्र होइन, त्यही साल हिमपहिरोको नयाँ प्रकारको विपत्तिको सामना पनि हल्जी गाउँले गर्यो। भेलबाढीले गुम्बा नै लैजान लागेको थियो भनेर सुनाउँदा मेरो मनमा ठूलो आघात पर्यो। गुम्बा हाम्रो आस्था र विश्वासको धरोहर मात्र होइन; सभ्यता, संस्कृतिको मुटु पनि हो। त्यही नै बगाउन आँटेकाले हाम्रो गाउँलाई के भएको होला भन्ने लागिह्यो,' उनले सुनाइन्।
भेलबाढीले हल्जी गाउँका केही घर बगाएको थियो। गाउँको पुछारतिरको खेतीयोग्य जमिन पनि कटान गरेको थियो। त्यही विपत्तिको खबरले उनको बाटो बदलियो। विपत्तिले घेरेको गाउँ र आफ्नै मनभित्रका अनुत्तरित प्रश्नको जबाफ खोज्न उनी जलवायु अभियन्ता बनिन्।
बालखैमा गाउँ छाडेकी टासी फेरि गावैं फर्किएर कसरी अभियन्ता बनिन् भनेर अब म विस्तारमा चर्चा गर्नेछु।
सुरूआत उनको बाल्यकालबाट गरौं। माथिमाथि छपक्कै हिउँको टोपी लगाएका। चारैतिर साना–ठूला थुन्चे घोप्ट्याएजस्ता थुम्काथुम्की। ढुंग्यान तर बुट्यानरहित पाखाहरू। तिनै पर्वतहरूको खोँचबाट बग्ने कर्णालीका शाखा–प्रशाखा। तिनैले सिञ्चित गरिरहेका फाँट–फगटाहरू।
हुम्ला, लिमी उपत्यकाको परिचय अद्वितीय थियो। अनुपम थियो। प्रकृतिको विछट्टै सौन्दर्यबीच अभावको विशालकाय पठार त्यहाँ मौजुद थियो। मुख्य अभाव त त्यहाँ शिक्षाको पहारिलो घाम लाग्नै पाएको थिएन। सन् २००० मा उनी जन्मिइन्, लिमी उपत्यकाकै एउटा अंग हल्जी गाउँमा। अहिले त्यो नाम्खा गाउँपालिका वडा नम्बर ६ मा पर्छ। यो वडामा तीनवटा गाउँ समेटिएका छन्। पूर्वबाट क्रमशः जाङ, हल्जी र तील गाउँ पर्छन्।
उनी जन्मिँदा गाउँका अधिकांश मानिस निरक्षर नै थिए। गुम्बाका लामाहरूले दिने धार्मिक ज्ञानबाहेक अरू शिक्षादीक्षा उनीहरूको पहुँचमा थिएन। अभिभावक मात्र होइन, बालबच्चाको स्थिति पनि त्यही थियो। सन् २०१२ मा मात्र त्यो गाउँमा विद्यालय पुग्यो।
मभन्दा १२ वर्ष कान्छो छ, हाम्रो गाउँको स्कुल!' यति भन्दै टासी ल्हाजोम मच्चिएर हाँसिन्। गम्भीर कुरालाई पनि हास्य भावमा अभिव्यक्ति गर्न सम्ने अचम्मको मिजास रहेछ उनको। नियतिको अपवाद बनिन् ल्हाजोम। सन् २००६ तिरको कुरा हो। लिमी उपत्यकाका १८ जना बालबालिकालाई एउटा गैरसरकारी संस्थाले पढाइदिने भयो। तिनै बालबालिकासँगै मिसिएर उनले काठमाडौंसम्मको यात्रा तय गरिन्। गाउँकै गुम्बाका रिम्पोछे जसलाई उनीहरू 'टुल्कु' पनि भन्छन् ले त्यो काठमाडौं आउने गोरेटो खनिदिएका थिए।
त्यस एनजिओले हाम्रो शैक्षिक भविष्यको आधार कोरिदियो। हाम्रो चेतनामा नयाँ जग खनिदियो, उनी अहिले सम्झन्छिन्। ल्हाजोमका तीन दिदीबहिनी छन्। माइली दिदीलाई पनि कोही दाताले शिक्षाको आभा थमाइदियो। त्यो उनको जीवनको पथप्रदर्शक बन्यो। जेठी दिदीले टुल्कुले जुराइदिएको अवसर पाउनु भएन। उहाँले शिक्षा पाउन बडो कष्ट गर्नुपर्यो, उनले सुनाइन्। काठमाडौं आएपछि गाउँसँगको सामीप्य टुटेझैं भयो। लिमी उपत्यका, वरपरको चित्ताकर्ष दृश्य सम्झनाभरि छाउँथे। तर गाउँ जान दुरूह थियो। २०८२ मा आएर मात्र राष्ट्रिय सडक सञ्जालसँग जोडिएकाले बाटोघाटोको असुविधा छँदै थियो। शीतयाममा मात्र स्कुल छुट्टी हुनाले उनी हिउँ पर्ने मौसममा गाउँ जान सक्दिन थिइन्।
यसरी उनी गाउँबाट टाढा भइन्। वर्षमा एक–दुईपटक गाउँबाट कि आमा कि बुबा आइदिनुहुन्थ्यो। उहाँहरू आएपछि आमाबाबुको नियास्रो त मेटिने भयो, तर गाउँको याद झन् झन् बढ्थ्यो, उनले सुनाउँदै गइन्। चौध वर्षपछि, सन् २०२० मा उनी गाउँ गइन्।
बाल्यकालमा हिँडेका गाउँका डोरेटा बदलिएका थिएनन्। गाउँका दुःख दुर भएका थिएनन्। मानिसहरूको पीडाको रङ र अभावको आकार उस्तै थियो। तर प्रकृतिको आवरणमा बदलाव आएछ। उनी सानो छँदा पानी परेको अनुभव थिएन। गाउँका शिरतुल्य पाखाहरूमा छपक्कै हिउँले ढाकेका हुन्थे। त्यो हिउँ झरेर आँगनसम्मै आइपुग्थ्यो। शीत याममा त तलतलसम्म पनि फिँजारिन पुग्थ्यो।
अचम्मको हिमसौन्दर्यभित्र लुकेको उपत्यका थियो त्यो।
तीन हजार ९२० मिटर उचाइदेखि चार हजार मिटरसम्म फैलिएको लिमी उपत्यका हिमसौन्दर्यको अनुपम बान्की पनि थियो। तर ठूलो बदलाव आइसकेछ। हाम्रोतिर ठुल्ठूला ढिक्कासहितका असिना परेको याद छ तर पानी परेको सम्झना थिएन। आमाबुबाहरूले पनि सुनाउनुभएको थिएन,' उनले भन्दै गइन्, 'सन् २०२० मा गाउँ फर्कंदा दर्के झरी पो पर्न थालेको रहेछ। दर्के झरीले उनको दिमागमा नराम्रोसँग झड्का हान्यो।
बाटामा हिँडिरहेको थिएँ। ठूलो पानी परेर रोकिनुपर्यो। पानी पर्नु कुनै अशुभ र नराम्रो कुरा त होइन। तर हाम्रो गाउँमा किन यस्तो भयो होला भनेर मनभित्र खुल्दुली उत्पन्न भयो,' उनी अहिले सम्झन्छिन्। माथिल्लो हुम्ला, उपल्लो डोल्पा, मनाङ, मुस्ताङमा पानी कम पर्ने हुनाले घरहरूको बनोट पनि त्यस्तै हुन्छ। दुई, अथवा एक पाखो बनाएर छानाहरू छाएका हुँदैनन्। माटोको गाह्रो लगाउने र त्यसमाथि काठपात बिछ्याएर माटैले छापेको हुन्छ। सम्म आकारकै हुन्छन् घरको छानो पनि। झमझम झरी पर्न थालेकाले ती घरहरूले पानी ओत्ने हुन् कि होइनन्? अनुकूलन कसरी हुने होला? उनलाई यस्तै चिन्ताले बेस्सरी सताउन थाल्यो। हुम्लामा जति माथिल्लो भेग उक्लियो, उति नांगा पाखा आँखाभरि आउँछन्। बुट्यानरहित पाखा त्यहाँको सौन्दर्य हो। ती पाखामा छपक्कै हिउँले ढाकेको हुन्छ। खेतीयोग्य भूभागमा पनि खोलाको पानीले सिञ्चाइ भए भइहाल्यो, नभए हिउँकै चिस्यानले बाली लगाउने हो। हिउँ उजाडिएर पाखा सर्वांग नांगो हुँदै गएको र त्यही खुकुलो माटोमा पानीसमेत पर्न थालेकाले गाउँको अवस्था के हुने होला भन्ने चिन्ताले उनलाई सताउन थाल्यो। म गाउँ फर्कँदा अनुकूलन (एडप्टेसन) का नयाँ नयाँ उपाय पनि सोच्न थालिएको रहेछ। गाउँका मानिसले नयाँ घर बनाउँदा सुरूमा सीमावर्ती चीनबाट प्लास्टिक ल्याएर छतमा ओछ्याउने र त्यसमाथि माटो छाप्ने गर्न थाल्नुभएको रहेछ,' उनले भनिन्, 'गाउँमा जलवायु परिवर्तनको असर देखिन थालिसकेको थियो। त्यसबाट हुनसक्ने जोखिम हेरेर स्थानीयहरूले आफूले जानेको र गर्न सक्ने उपाय अपनाइरहनुभएको थियो। यति मात्र घटनाक्रमले उनको जीवनको बाटो परिवर्तन भएको भने होइन। सन् २०११ मै हल्जी गाउँमा ठूलो हिमपहिरो आयो। त्यसले लिमीको माथिल्लो भूभागको वञ्जरतुल्य भूमिमा आफ्नो बाटो मात्र बनाएन, ठूलो विपत्ति थमाएर गयो। खर्कमा रहेका सयभन्दा बढी याक हिमपहिरोले बगायो। हल्जीमा भएको यो भयंकर त्रासदीपूर्ण घटना कसैलाई पनि थाहा छैन। न काठमाडौंको मिडियालाई थाहा छ, न काठमाडौंमा बस्ने सरकारलाई नै थाहा छ, यहाँसम्म कि सिमीकोटवासीलाई समेत थाहा रहेनछ!' उनले आश्चर्य प्रकट गर्दै भनिन्। उनको गाउँमा देखिएको प्रकृतिको बुहार्तन हल्जीमै सीमित रह्यो। गाउँलेहरूले नियति सम्झेर चित्त बुझाए। मनभित्र विपत्तिले थमाइदिएको घाउ आफ्नै बलबुता र यत्नबाट खाटा बसाए। त्यति बेलासम्म टासीलाई जलवायु परिवर्तनबारे थाहा थिएन। नयाँ वैश्विक चुनौतीका रूपमा देखा परिरहेको तापमान वृद्धि, हिन्दकुश क्षेत्रमा देखिएको नयाँनयाँ हिमविचलनका घटनाबारे झन् कसरी थाहा हुनू!
त्यसपछि मैले यसबारे अध्ययन गर्न थालेँ, गाउँमा यस्ता खालका घटना किन देखापरिरहेका छन्, यसको रोकथाम कसरी हुन्छ भनेर चासो राख्न थालेँ, उनले सुनाउँदै गइन्। हिमविचलनका नूतन घटनासँगै उनलाई सरकार सञ्चालक हुम्लाबाट विकट बनिरहेको तथ्यले झन् बढी पिरोल्यो।
'हामीले विपत्तिमा पनि किन विभेद भोगिरहेका छौं? हिमाली भेगमा बसेका छौं, त्यसैले यू डिजर्भ टू सफर (तपाईं कष्ट भोग्न योग्य हुनुहुन्छ) भन्ने पो सोचेका हुन् कि? नत्र किन आएनन् त हाम्रा व्यथा काठमाडौंका पत्रपत्रिकामा?' उनले प्रश्न गर्दै भनिन्।
यो घटनापछि उनलाई लाग्यो; जसलाई चोट लाग्यो, दुःख–पीडा र बुहार्तन उसैले सहनुपर्छ। र, बोल्नु पनि उही पर्छ। त्यसपछि उनले हुम्ला कर्णालीको कहरलाई राज्यको मूलप्रवाहमा ल्याइछाड्ने अठोट गरिन्। वास्तवमा त्यो उनले आफैसँग गरेको प्रतीज्ञा थियो। वैश्विक मञ्चमा जलवायु परिवर्तनका मुद्दाको नवीन धुन उठ्दो छ। हिमालय क्षेत्रमा विपत्तिका लहर उठ्दैछ भने लिमी उपत्यका संकटको संघारमै छ भन्ने उनलाई लाग्यो। त्यसपछि नै उनले जलवायु परिवर्तनको पैरवी गर्न थालेकी हुन्। टासी ल्हाजोम जलवायु परिवर्तनको मुद्दासँग आफूलाई एकाकार गराउनुको अर्को पृष्ठभूमि पनि बाँध्छिन्। सन् २०११ को भेलबाढीले उनको परिवारमा पनि अपूरणीय क्षति पुर्यायो। परिवारको जीवन गुजाराको माध्यम बनिरहेको याक हिमपहिरोको भेलसँगै बेपत्ता भए। याक–चौंरी हिमालको गाडधन हो। पितापुर्खाको सम्पत्तिका रूपमा रहेको याक–चौंरी हिमभेलमा बगेको देखेर पनि उनलाई यो क्षेत्रमा पैरवी गर्न मन लाग्यो! खेतीपाती गर्न हाम्रो परिवारसँग जग्गाजमिन थिएन। त्यसैले हाम्रो परिवारले याक–चौंरी पालेको थियो। त्यसबाट उत्पादित दूध र दुग्धजन्य पदार्थबाट नै हाम्रो घर चलेको थियो। फेरि याक हाम्रो पुर्ख्यौली सम्पत्ति पनि थियो। त्यही नै नरहेपछि हाम्रो जीवन संकटपूर्ण बन्ने भयो,' उनले आफ्नो पीडा सुनाउँदै गइन्। यो उनीहरूको मात्र कथा थिएन, हल्जी गाउँकै व्यथा थियो। हिमविपत्तिले चिर्दै गएका अरू बस्तीहरूको पनि साझा कथा थियो। पीडाको समवेत गुञ्जन थियो, त्यो। अरूलाई मेरो खाँचो नपर्न सक्छ। तर मेरो गाउँ र मेरो समुदायका निम्ति म आवश्यक पर्दै गएको थिएँ। सुदूरगाउँको समस्यालाई राज्यको मूलप्रवाहमा जोड्न म माध्यम बन्न सक्ने ठानेँ र यसमै आफूलाई समर्पित गर्ने निधो गरेँ, उनी दृढ सुनिइन्। यसरी उनी लिमी उपत्यकाले व्यहोर्दै गरेको जलवायु संकटको सेतु बनिन्। र, पैरवीको बाटोमा आफूलाई हिँडाइन्। देश–दुनियाँ बदल्छु भन्ने मानिस त धेरै हुँदा रहेछन्! तर आफ्नो गाउँ बदल्छु भन्ने मानिस चाहिँ कमै भेटेँ। यही अभाव पूर्ति गर्न पनि मैले जलवायु अभियन्ता बन्ने निर्णय गरेँ, उनी अहिले सम्झन्छिन्। उनले आफूले रोजेको जलवायु अभियन्ताको बाटोमा पाइला त राखिन्, तर विशुद्ध अभियान र पैरवीले मात्र कहीँ पुर्याउँदैन भन्ने उनलाई बोध हुन थाल्यो। अभियान र पैरवीमा पनि सिर्जनात्मकता चाहिन्छ। नवीनता र मौलिकता अपरिहार्य छ। यो कुरा गहिरो गरी बोध भएपछि उनले वृत्तचित्र पनि निर्माण गरिन्, नो मोनास्ट्री, नो भिलेज! अर्थात् गुम्बा छैन भने गाउँ पनि छैन।
नेपालका प्राचीनतम गुम्बाहरूमध्ये एक पर्छ, हल्जी रिन्छिनलिङ गोम्पा। हिमाली क्षेत्रमा देखिएको नयाँ प्रकारको संकटले गुम्बाको अस्तित्व नै संकटापन्न अवस्थामा छ, उनले सुनाइन्। पुरातन हल्जी गाउँमा जलवायुजन्य जे संकट देखिएका छन्, त्यसले गावैंको अस्तित्व संकटपूर्ण अवस्थामा पुगेको छ। झन् ठूलो संकटमा छ, गुम्बा। पछिल्लो समय देखापरेको हिमविचलन र त्यसबाट सिर्जित भेलबाढीले नदीको बहाव गुम्बातिर सोझिएको छ। अब त खोला र गुम्बाबीचको दुरी पनि छोटिएको छ। कहिले विपत्तिले त्यो दुरी पनि मेटिदिने हो, हामी त्रासमा छौं,' उनले भनिन्। लिमी उपत्यका हिमाली विषमताबाट घेरिएको छ। सन् १९९६ देखि त्यहाँ लगातारजस्तो हिमबाढी आइरहेका छन्। सन् २००४ देखि सन् २०२५ सम्मको अवधिमा ६ वटा हिमबाढी–हिमपहिरो आएका छन्। मनग्गे क्षति उत्पन्न गरेको छ। उपल्लो हुम्लाको हिमाली भेगमा गरिएको स्वतन्त्र अनुसन्धानले आगामी ३० वर्षभित्रै अरू पनि हिमताल विस्फोट हुनसक्न जोखिम औंल्याएको छ। वैश्विक तापमान वृद्धिका कारण हुम्लाले गर्दै नगरेको गल्तीको भागिदार हुनुपरेको छ। हुम्लाकै जाङ, जुन लिमी उपत्यकाभित्रै पर्छ, त्यो गाउँ त खण्डितसमेत भएको छ। त्यस भेगका साना–ठूला हिमतालमा विचलन देखापर्न थालिसकेको छ। हिमतालको मोरेन भत्कन थालेका छन्। पर्माफ्रोस्ट (हिमोढ) कमजोर हुँदै गएका छन्। हिमालको हिउँ पग्लँदै गएको छ। चट्टानी भूभागमाथिको हिउँ पग्लँदा गाउँमा बोल्डर्स फ्लो (पहिरोका रूपमा चट्टानहरू खस्ने) को जोखिम पनि बढेको छ।
गत जेठ १ गते तिल्जुङ खोलाको जलाधार क्षेत्रमा ठूलो भेलबाढी आयो। सुतिसकेको तिलगाउँवासी मध्यरात लालाबाला च्यापेर भाग्नुपर्ने परिस्थिति आयो। तिलजुङ खोलाको जलाधार क्षेत्रमा रहेका स–साना दुईवटा हिमपोखरी चुहिएर तल्लो तटीय क्षेत्रमा भेलबाढी आएको थियो। त्यहाँ तालको बाह्य सहतको बरफ चिरा परेको थियो। भित्र ओढारजस्तो भागबाट चुहिएको पानीले बाढी निम्त्याएको थियो।
अध्येताहरूले हिमतालमा देखापरेको यस्तो विचलनलाई 'थर्मोकार्ट' को संज्ञा दिएका छन्। यद्यपि यसबारे इसिमोडले स्वतन्त्र अनुसन्धान गरिरहेको छ। के कारणले तालको पानी चुहिएर निख्रियो भने अन्तिम निष्कर्ष निकाल्न बाँकी नै छ। आफ्नै गाउँको थाप्लामा खनिएको यो समस्यालाई नजिकबाट देखेकी, जानेकी र जलवायु परिवर्तनको असरको साक्षीसमेत बनेकी टासी ल्हाजोम आफ्नो भूगोलको जलवायु मुद्दा सशक्त पैरवी गर्न वृत्तचित्र निर्माणमा हात हालेको बताउँछिन्। उनी अहिले त्यसैको माध्यमबाट आफ्नो गाउँको कथालाई कर्णालीको भँगालोझैं मूल प्रवाहीकृत गर्दै छिन्। टासीले भारतस्थित दिल्ली विश्वविद्यालयको हिन्दु कलेजबाट स्नाताक तह अध्ययन गरेकी छन्। भारतीय चलचित्र निर्देशक इम्तियाज अली त्यही कलेजका उत्पादन हुन्। अली विद्यार्थी छँदा उनले 'इब्तिदा समाज' गठन गरेका रहेछन्। त्यसले विद्यार्थी समुदायबीच रचनात्मक र सिर्जनात्मक गतिविधि गर्थ्यो। त्यही विद्यार्थी सोसाइटीले एक दिवसीय स्क्रिप्ट राइटिङ तालिम राखेको थियो। त्यसकै अनुशिक्षार्थी भएर उनी तालिममा सहभागी भइन्। त्यही अनुशिक्षणले उनलाई वृत्तचित्र निर्माणतिर हिँड्न मद्दत पुर्याएको थियो।
मसँग अनेक कथा थिए। अन्यत्र हिउँ पग्लन्छ होला, हामीकहाँ त सिंगै हिमाल पग्लँदैछ। त्यसबाट उत्पन्न हुने बाढीले हाम्रो अस्तित्व र चिनारी सब बगाउँदैछ। आत्मा गाँसिएको गुम्बालाई नै समुदायको बीचबाट चुँडाल्दैछ भने मसँग भन्ने कथा कति होलान्!' उनले वृत्तचित्र निर्माणमा हात हाल्नुको प्रसंग सुनाउँदै भनिन्। संकटापन्न हिमाली भेगको समवेत आवाज नै 'नो मोनास्ट्री, नो भिलेज' भएको उनको बुझाइ छ। हिमाली भेगवासीहरूले असाधारण पीडा भोगिरहेका छन्। विश्वव्यापी तापमान वृद्धिको भ्रामरी उनीहरूकै थाप्लामा खनिइरहेको छ। तर उनीहरू यो पीडा सुनाउन सकिराखेका छैनन्। सुनाउन कसको मञ्चमा जानुपर्ने हो, त्यो पनि उनीहरूलाई थाहा छैन। सञ्चार माध्यमहरूले दुर्गम क्षेत्र कभर गरोस्। दुर्गम क्षेत्रका मानिसलाई दुर्गममै नराख्न मद्दत गरोस्। मञ्च उपलब्ध गराओस्। उहाँहरूका लागि बोल्न अरूलाई नबोलाओस्। बरू उहाँहरूलाई नै बोल्न लगाओस्,' उनले आफ्नो चाहना व्यक्ति गर्दै भनिन्। उनको अर्को पनि दुखेसो छ। दुर्गम क्षेत्रको प्रतिनिधित्व गर्दै वैश्विक मञ्चहरूमा काठमाडौं र पोखरावासीहरू अघि सर्ने गरेका छन्। उनीहरू देश–दुनियाँमा गइरहेका पनि छन्। एक जनाले मलाई के भन्नुभयो भने म कोप–२६ जाँदैछु। तिम्रा कथा मलाई भन। म त्यहाँ सुनाउने छु। ताकि, तिम्रो मुद्दामा विश्वको ध्यान खिचियोस्, उनले एउटा प्रसंग सुनाउँदै भनिन्, 'यो सुनेर म छक्क परेँ। मेरो कुरा सुनाउन म नै सक्षम छु र म नै आधिकारिक पनि हो। त्यस कारण कोप–२६ जानुपर्ने म हो। यदि तिमीलाई साँच्चै हिमाली क्षेत्रको मुद्दाले पिरोलेको छ भने मलाई कोप–२६ मा जान सहजीकरण गर। मलाई पठाऊ, मै सुनाउँछु। उनी आफ्नै कथा भन्न अभियन्ता बनेकी हुन्। जलवायुसम्बन्धी मुद्दाहरूको पैरवी गर्ने मञ्चहरूमा नछुटाई पुगिरहेकी छन्। र, हिमाली भेगका वर्णनातीत कथा पस्किइरहेकी छन्।
अब फर्किम हामी टासीको मन्त्रालयमा प्रवेशमा बनेको विवादको मुल कुरा के हो भनेर । जेनजीहरूले नै उनलाई स्वीकार्न नसकिने बताएका छन् । जेनजीका तर्फबाट कर्णालीकी संयोजक सुप्रिया शाहीले विज्ञप्ति जारी गर्दै टासीको नागरिकता विवाद रहेको, जेनजी आन्दोलनमा कुनै भूमिका नरहेको बताएकी छिन् । जेनजीहरुले टासी फ्री तिब्बत अभियानमा संलग्नता रहेको आशंका व्यक्त गर्दै त्यसबारे पनि छानबिन गर्न माग गरेका छन् । साथै कर्णालीको प्रतिनिधित्व गराउन कर्णालीका जेनजीहरुसँग छलफल र परामर्शविना नगर कुनै निर्णय नगर्न विज्ञप्तिमा भनिएको छ । टासीलाई कर्णालीको प्रतिनिधित्व गर्ने गरी मन्त्री बनाउन लागिएको हो । कर्णालीका जेनजीहरूले प्रदेशको प्रतिनिधित्वका लागि पटकपटक छलफल पनि गरेका थिए । सम्भावित व्यक्तिका विषयमा समेत छलफल गरेका थिए । छलफलमा टासीको नाम प्रस्ताव भएको थिएन । प्रधानमन्त्री निकट स्रोतका अनुसार उनीबारे प्रधानमन्त्री सुशीला कार्कीले थप छलफल गर्ने बताएकी छन् । पूर्वसांसद ज्ञानेन्द्र शाहीले पनि टासी ल्हाजोम नेपाली नभएको भन्दै उनलाई अमेरिकी दूतावासले मन्त्री बनाउन खोजेको आरोप लगाएका छन् ।
जेनजी कर्णालीले प्रेस विज्ञप्ति नै निकालेर यस्तो भनेको छ पत्रमा जस्ताको त्यस्तै :
मिति: २०८२ असोज २५ गते
विषय: मन्त्रिपरिषद् विस्तारसम्बन्धी समाचारप्रति जेन-जी कर्णालीको गम्भीर ध्यानाकर्षण
- हामी जेन-जी कर्णाली प्रदेश तर्फबाट सरकार र आम नागरिकलाई सबैलाई जानकारी गराउन चाहन्छौं कि भर्खरै केही सञ्चार माध्यममार्फत कर्णाली प्रदेशको प्रतिनिधित्वको रूपमा टासी ल्हाजोम लाई हालको अन्तरिम मन्त्रिपरिषद्को सदस्यका रूपमा समावेश गर्ने भन्ने समाचार प्रकाशित/प्रसारित भएका छन। उक्त विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको हुँदा, सरकार तथा सम्बन्धित निकायहरूप्रति यो निर्णय पुनर्विचार गरी स्पष्टता सार्वजनिक गर्न आग्रह गर्दछौं।
हामी स्पष्ट गर्दछौं कि गत भाद्र २३ - २४ गते देशभरका स्वतन्त्र र सचेत युवाद्वारा सुरु गरिएको शान्तिपूर्ण जेन- जी आन्दोलनमाथि गरिएको राज्य दमन लोकतन्त्र र नागरिक अधिकारमाथिको गम्भीर आक्रमण थियो । सयौँ युवाहरू घाइते, थुप्रै पक्राउ परेका र केहीले सहादत दिएका ती घटनाहरू अझै राष्ट्रिय घाउ बनेर रहेका छन् । घाइतेहरू अझै उपचार र न्यायको प्रतीक्षामा छन्, तर सरकारको मौनता चिन्ताजनक छ ।
भाद्र २३-२४ नेपालका युवाको इतिहासमा भुल्न नहुने कालो अध्याय बनेको छ। त्यस घटनाको पीडा र बलिदानलाई बेवास्ता गर्दै, पर्याप्त छलफल र पारदर्शिता विना गरिएको मन्त्रिपरिषद् विस्तारले जनभावनालाई थप आहत बनाएको निश्चित प्राय छ । यस सन्दर्भमा कर्णाली जेन-जीका तर्फबाट निम्नलिखित स्पष्टता चाहान्छौ-
१. टासी ल्हाजोमको नागरिकताको विवाद रहेकाले त्यस सम्बन्धि विषयमा तत्काल छानबिन गरियोस् ।
२.टासी ल्हाजोम फ्री तिब्बत अभियानसम्बन्धी कुनै गतिविधि वा राजनीतिक अभियानमा संलग्नताको अपुष्ट समाचार प्राप्त भएको हुँदा नेपाल-चीन सम्बन्धका सन्दर्भमा संवेदनशीलता कायम राखी, कुनै अन्तर्राष्ट्रिय प्रभाव वा संलग्नता भए स्पष्ट पारियोस् ।
३.जेन-जी आन्दोलनमा टासी ल्हाजोमको सहभागीता तथा योगदाना र कर्णाली प्रदेशका स्थानीय मुद्दा र विकासका क्षेत्रमा उनका योगदानबारे पारदर्शी जानकारी सार्वजनिक गरियोस् ।
४.कर्णालीको प्रतिनिधित्व गर्ने कुरामा कर्णालीका जेन-जी समूहहरूसँग छलफल तथा परामर्श नगरी कुनै पनि निर्णय नगरियोस ।
हामी सरकारलाई स्मरण गराउन चाहन्छौं - जेन-जी आन्दोलन कसैलाई मन्त्रि पद दिलाउनका लागि थिएन; यो त परिवर्तन, न्याय, पारदर्शिता र सुशासनको लडाई थियो । आन्दोलनका सहिद र घाइतेको योगदानप्रति सम्मान गर्दै, सरकारले कुनै पनि निर्णय लिदा सुच-बुजका साथ निर्णय लिनेछ भन्ने कुरामा हामि विस्वस्त छौ । अन्यथा, हाम्रो मागलाई वेवास्ता गरे भविष्यमा उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने चेतावनी पनि हामी दिन चाहन्छौं ।
- सुप्रिया शा संयोजक, जेन-जी कर्णाली
Comments
Post a Comment