यस्तो छ अहिलेका उर्जा मन्त्री कुलमान घिसिङको इतिहास
कुलमान घिसिङ अहिले फेरि एकपटक चर्चामा छन् । कुलमान घिसिङ ३० भदौ २०८२ देखि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको अन्तरिम मन्त्रिपरिषद्मा सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको रूपमा सेवारत छन् । उनले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकको रूपमा काम गरिसकेका छन्। उनले आफ्नो पहिलो कार्यकालमा पदभार ग्रहण गरेपछि दशकौँसम्म प्रति दिन १८ घण्टासम्मको लोडसेडिङ सङ्कट समाधान गरेका थिए ।
आखिर कुलमान को हुन् ? उनले जीवनमा कसरी प्रगति गरे ? के के हण्डरहरू खाए ? र कसरी आज उनी यो ठाउँसम्म आइ पुगे ।
रामेछापको दुर्गममा अवस्थित सरकारी स्कुलमा पढेको एकजना सामान्य किसानको छोरो अहिले नेपाली जनताको मनमुटुमा बास बस्न सफल भएको छ । देशलाई लोडसेडिङबाट मुक्त गराएर सबैको घरमा उज्यालो भित्र्याउने अभियन्ता कुलमान घिसिङ, विद्यालय जीवन को कुरा गर्दा । गाउँमा टुकी बालेर पढ्थेँ । राति अबेरसम्म टुकी छेउमा बसेर पढ्दा नाकमा कालो ध्वाँसो बसेको हुन्थ्यो ।
अहिले काठमाडौंलाई लोडसेडिङ मुक्त गराएर चर्चा कमाएमा कुलमान काठमाडौं आएपछि नै हो, बिजुली देखेको । विद्यालयमा सधैं प्रथम हुने कुलमानले जब काठमाडौंमा आएर बिजुली देखे, तब उनले कसम खाए– मेरो बेथान गाउँमा पनि यसैगरी बिजुली बाल्छु । अहिले उनले बेथानमा बिजुली बालिसकेका छन् । र, बेथानमात्रै हैन, देशैभरि उज्यालो बनाउने अभियन्ता बनेका छन् उनी ।
अब पुनः अघिकै प्रश्न आउछ आखिर को हुन् त कुलमान ?
घिसिङको जन्म २०२७ मङ्सिर १० मा पूर्वी नेपालको रामेछाप जिल्लाको बेथान गाविस हाल सुनापती गाउँपालिका वडा नम्बर ४ मा भएको थियो । बाल्यकालमा डहु माध्यमिक विद्यालयमा अध्ययन गरेका थिए ।
कुलमानको प्राथमिक शिक्षा गाउँमै वित्यो । उनी सधैं स्कुल फस्ट हुन्थे । ५ कक्षा पास गरेपछि उनी दाइहरुसँग काठमाडौं आए । उनका दाजु बानेश्वरमा बस्थे र थान्काको व्यवसाय गर्थे । काठमाडौं आएपछि कुलमानलाई उनका दाजुहरुले झोंछेको सरकारी स्कुल बालसेवा माध्यमिक विद्यालयमा कक्षा ७ मा भर्ना गरिदिए । कुलमान त्यहाँ पनि प्रथम नै भए ।
तर, सेकेण्ड ब्वाई सिद्धार्थ बनस्थली गएपछि शिक्षकहरुले नै उनलाई पनि यति राम्रो पढाइ भएको केटो बोर्डिङ स्कुलतिरै जानु राम्रो भन्ने सुझाव दिए । दाजुहरुले उनलाई अमर आस बोर्डिङमा भर्ना गरिदिए । कुलमान त्यहाँ पनि फस्ट नै भए । त्यसपछि उनले अस्कल क्यापसबाट आईएस्सी गरे ।
त्यसपछि उनी छात्रवृत्तिमा भारतमा पढ्न गए । जम्सेदपुरबाट सन् १९९४ मा बीएस्सी इलेक्टिकल इन्जिनियर गरेपछि करिव ०५१ तिर उनी स्वदेश फर्केर नेपाल विद्युत प्राधिकरणमा सातौं तहको इन्जिनियरको जागिरे भए । काम गर्दै पढ्ने क्रममा पुलचोक इन्जिनियरिङ क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गरे ।
कुलमानले इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमाण्ड साइड म्यानेजमेन्ट मा थेसिस गरेका थिए । पछि विधुत प्राधिकरणको एमडी भएपछि उनको पढाइ र काम एकसाथ मिलेको उनी आफै बताउँछन ।
कुलमान इञ्जिनियरमात्रै होइनन्, कुशल व्यवस्थापक पनि हुन् । उनले पोखरा विश्वविद्यालयबाट व्यवस्थापनमा इएमबीए पनि गरेका हुन, जसले व्यवस्थापनको पाटोमा पनि उनलाई विज्ञता प्रदान ग¥यो ।
प्राधिकरणमा काम गर्दागर्दै कुलमानले चिलिमेको जिम्मेवारी पाए । जतिबेला उनी दशौं तहमा थिए । उनले नेपालको लगानीबाट पनि विद्युत परियोजना सफल रुपमा बनाउन सकिन्छ भनेर प्रमाणित गरे, जुन उनको आफ्नो व्यक्तिगत करिअरका लागि टर्निङ प्वाइन्ट बन्यो ।
कुलमानले अपेक्षा गरेभन्दा समयमै सफलतापूर्वक परियोजना सफल मात्रै पारेनन्, सेयर दिएर स्थानीयलाई लखपति पनि बनाए । चिलिमेले १००० मेगावाट पनि नेपालीहरुबाटै बनाउन सकिन्छ भन्ने आँट दिएको थियो । चिलिमेको सेयर जनताका हातबाट दलालहरुले फुत्काउन थालेपछि घिसिङले एउटै गाउँको करिब ७ करोड रुपैयाँ बराबरको सेयर फिर्ता गराए । यो घटनाले गर्दा रसुवाका जनताले कुलमानलाई आँखाको नानीभित्र राखेका छन् ।
तर, दुर्भाग्य भनौं, त्यसपछि कुलमान आयोजनाबाट हटाइए र प्राधिकरणको केन्द्रमा तानिए । केन्द्रमा आएपछि उनले करिब दुई वर्षसम्म कुनै जिम्मेवारी पाएनन् । झण्डै २ वर्ष कार्यालय गएर हाजिर गर्ने र घर फर्कने दैनिकी बन्यो । अवस्था यस्तो आइसकेको थियो कि उनी राजीनामा दिने मुडमा पुगेका थिए ।
उनको करियरलाई निहाल्ने हो भने घिसिङलाई २०७३ भदौ २९ मा मन्त्रिपरिषद्को निर्णयबाट नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकको रूपमा नियुक्त गरिएको थियो । नियुक्ति हुनुभन्दा अघि उनी दुई दशकभन्दा बढी समयदेखि प्राधिकरणमा आबद्ध थिए । नियुक्तिको समयमा, उनी राहुघाट जलविद्युत परियोजनाको परियोजना प्रमुखको रूपमा सेवा गरिरहेका थिए, त्यसअघि चिलिमे जलविद्युत कम्पनीको प्रबन्ध निर्देशक थिए । विद्युत व्यापार र वितरणमा अनुभवी, उनले आफ्नो नियुक्ति पछिको एक अन्तर्वार्तामा लोडसेडिङ हटाउनु आफ्नो मुख्य लक्ष्य हुने बताएका थिए ।
सुक्खा जाडो महिनाहरूमा १८ घण्टासम्म हुने तालिकाबद्ध दैनिक विद्युत कटौती दशकौँदेखि नेपालमा निरन्तर समस्याको रूपमा रहेको थियो । घिसिङलाई प्राधिकरणको नेतृत्वमा नियुक्त गर्दा, उनले राम्रो व्यवस्थापन र थप समतामूलक विद्युत वितरणमा जोड दिएका थिए । आम जनताको खर्चमा केही ठुला उद्योगहरूलाई २४ घण्टा निर्बाध बिजुली आपूर्ति प्रदान गर्ने नीति अन्त्य गरेर, उनले प्रमुख सहरहरूमा विद्युत कटौती हटाउन सफल भएका थिए, र देशका अन्य भागहरूमा प्रत्येक दिन लगभग दुई घण्टा लोडसेडिङ घटाइदिएका थिए । उनले कम मागको समयमा पानी भण्डारण गर्ने जलविद्युत उत्पादन प्रणालीलाई मर्मत गर्दै कमजोर मर्मतसम्भारका कारण निष्क्रिय रहेका अनलाइन पावर प्लान्टहरू ल्याएका थिए।ृ१०े उनले पिक आवरमा उच्च–शक्तिको घरेलु उपकरणहरूको प्रयोगलाई निरुत्साहित गर्न जनचेतना अभियान सुरु गरेका थिए । २०७५ सम्ममा देशभरि आवासीय र औद्योगिक क्षेत्र दुवैको लागि लोडसेडिङ हटाइएको थियो ।
२०७८ साउन २७ मा, कुलमान घिसिङलाई दोस्रो कार्यकालको लागि पुनः नियुक्त गरिएको थियो। यद्यपि, उनको कार्यकाल २०८२ साउन २४ मा समाप्त हुने तालिका भएतापनि, उनलाई २०८१ चैत ११ मा उनलाई पदबाट हटाइएको थियो ।उनलाई हटाउने सरकारी निर्णयले व्यापक आलोचना र विरोध निम्त्याएको थियो ।
२०८१ चैत ११ मा नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरिएकोमा नेपालभर विरोध प्रदर्शन भएको थियो ।समर्थकहरूले सरकारको निर्णयको आलोचना गर्दै, लोडसेडिङ हटाउन उनको सफलतालाई अन्यायपूर्ण भएको बताएका थिए । विरोध प्रदर्शनले सत्तारुढ गठबन्धन भित्र विभाजन प्रकट गरेको थियो, नेपाली काङ्ग्रेसका नेताहरूले पनि यस कदमको विरोध गर्दै सम्भावित अशान्तिको बारेमा चिन्ता व्यक्त गरेका थिए ।
एकातिर विद्युतको चोरी र कालोबजारी भइरहेको र अर्कातिर जनतामा लोडसेडिङको मार खेप्न बाध्य पारिएको देखेपछि उनी राजीनामा दिने मुडमा पुगे । तर, सरकारले उनलाई विश्वास गरेर जिम्मेवारी दियो र उनले झण्डै २ महिनाकै अवधिमा मुलुकमा केही गर्न सकिन्छ भन्ने सकारात्मक संकेत दिए ।
प्राधिकरणको एमडी भए पनि जुनियर व्यक्ति भएको भन्दै प्राधिकरणकै केहीले कुलमानको विरोध गरेका छन् । तर, कुलमानले एमडी बन्नासाथ प्राधिकरणको स्थायी जागिरबाट राजीनामा दिएर बरिष्ठ भन्नेहरुलाई जवाफ दिए । जब कि कुलमानको स्थायी जागिर १२ वर्ष बाँकी नै थियो ।
भारतमा पढेर आएपछि कुलमानले जागिरका लागि प्राधिकरणसहित तीन ठाउँमा नाम निकालेका थिए । मन्त्रालय र हवाई विभागमा छाडेर उनले प्राधिकरण रोजे, किनकी उनलाई लाग्यो अरु ठाउँमा पेपर वर्क मात्र हुन्छ । प्राधिकरणमा भए प्राक्टिकल नै हुन्छ । प्राधिकरणमा लामो समय काम गरेपछि नीतिगत तहमा जाने इच्छा पनि नजागेको होइन । केही समय एक सहसचिवका लागि लोकसेवाले खोलेको विज्ञापनमा लिखितमा नाम पनि निकाले । तर, अन्तरवार्तामा अर्कै छानिए । त्यो बेला सहसचिव भएको भए म पनि सचिव भइसक्थें होला उनी हाँस्दै भन्छन् ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले ऊर्जा मन्त्रालयको पद्भार ग्रहण गरेपछि पहिलो निर्णय गरे– डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने । १० वर्षअघिदेखि बक्यौता उठाउने यो विषयले हालसम्म निकास पाएको छैन । अघिल्ला सरकारहरुले विद्युत बक्यौता उठाउनकै लागि विभिन्न आयोगहरु बनाए । आयोगको प्रतिवेदनका आधारमा समेत बक्यौता रकम उठ्न सकेको छैन । डेडिकेटेड र ट्रंकलाइनको व्यवस्था गर्ने र रकम उठाउने निर्णय गर्दा घिसिङ आफैं विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक थिए । विद्युत बक्यौता उठाउने विषयमा उनले लगातार अडान लिइरहेका थिए । तर उनी प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहँदा यो प्रयास सफल हुन सकेको थिएन । प्राधिकरणको कार्यकारी निर्देशक हुँदा गर्न नसकेको काम घिसिङले अब ऊर्जामन्त्रीको जिम्मेवारीमा रहेर के कसरी प्रक्रिया अघि बढनेछ त्यो विषय हेर्न बाँकि छ ।
Comments
Post a Comment