नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी सहितका दलहरुबीच एकता गरेर बन्ने नयाँ पार्टीको चुनाव चिह्न तारा राख्दा बामदेव गौतमले आफू सबैभन्दा बढी खुसी भएको बताएका छन् । पार्टी एकताको निर्णय गर्न हिजो भएको ८ घटकका नेताहरुको बैठकमा गौतमले आफ्नो खुसी साटेका हुन् । ‘यो चिह्न मैले चुनेको हुँ । घुम्दै फिर्दै तारा र मेरो फेरि भेट भयो,’ गौतमले भने, ‘म धेरै खुसी छु ।’ एमालेबाट अलग भएर गौतमको नेतृत्वमा २०५४ मा बनेको मालेको चुनाव चिह्न तारा थियो । २०५६ सालमा मालेका उम्मेद्वारहरुले तारा चिह्न नै प्रयोग गरेका थिए । तर गौतमले माले पार्टीलाई एमालेमै मिसाए । सीपी मैनाली सहितका केही नेताहरु एमाले फर्किएनन् । उनीहरुले जोगाएर राखेको चिह्न तारालाई नयाँ पार्टीले प्रयोग गर्ने भएको छ । संयोग, गौतम पनि केही समय अगाडि मात्र एकीकृत समाजवादी प्रवेश गरेका हुन् । ‘मैले चुने पनि छोडेको थिएँ । फेरि यो चिह्नसँग मेरो भेट भयो,’ गौतमले नेताहरुसँग भनेका छन् । नयाँ पार्टीको नाम भने टुंगो लाग्न बाँकी छ । नेकपा (समाजवादी), नेपाली कम्युनिष्ट पार्टी वा नेपाली कम्युनिष्ट पार्टी (समाजवादी) राख्ने भन्नेमा छलफल भइरहेको नेताहरुले बताएका छन् । आजको यस एपिसोडमा हामी यिनै बामदेव गौतमको बारेमा विस्तारमा कुरा गर्ने छौ । र यस्तो छ बामदेवलाई नफापेको तारा चुनाव चिह्नको इतिहास ।
बामदेव गौतम पूर्व नेकपा एमाले पार्टीका र हाल नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष हुन। वामदेव गौतमको जन्म विसं. २००५ साल असार २६ गते प्युठानको दाखाक्वाडीमा भएको हो । उनी अहिले ७२ वर्ष पुगेका छन् । गौतमका हजुरबा सामन्त थिए, पिता धनी किसानमा झरे । उनीचाहिँ आफूलाई मध्यम वर्गको भन्न रुचाउँछन् । राजनीतिमा सकृय यिनले पटकपटक नेपालका विभिन्न मन्त्रालय सम्हालिसकेका छन्। नेता गौतमले आफ्नो कर्मक्षेत्र बर्दियाबाट पछिल्लो समय चुनाव जितेका छैनन् । वामदेवको विगत निकै नै संघर्षपूर्ण आवेगहरुमा बितेको थियो । पाँच वर्षदेखि विद्यालय जान थालेका गौतमको ७ वर्षमै ब्रतबन्ध भयो । ९ वर्षको हुँदा ज्योतिष अध्ययन गर्न गुल्मीको गुरुकुलमा भर्ना भए । तर, उनको स्कुले जीवन निकै अस्थिर बन्यो । संस्कृत पढ्न छाडेर उनी प्युठानकमै आधार पाठशालामा ५ कक्षामा भर्ना भए । मोहन विक्रम सिंहको संगतमा पर्नै लागेका थिए, यहीवीचमा लाहुरे बन्छु भन्दै घरबाट सुन लिएर भागे । तर, ठगले सुन लगेर विचल्लीमा पारिदिएपछि उनी घर र्फकन बाध्य भए ।
त्यसपछि घर परिवार, स्कुल सबै ठाउँमा उनीमाथि अपमानजनक व्यवहार हुन थाल्यो । उनी मुक्ति हाईस्कुलमा ६ कक्षामा भर्ना भए । त्यहाँबाट ८ कक्षा पास भएपछि साहुका छोराहरुसँग लागेर बनारस गए । त्यहाँ घरेलु कामदारका रुपमा १५ दिन काम गरे । प्युठानमा गौतमको परिवार कांग्रेस थियो । उनका मामा प्युठान कांग्रेसका संस्थापक एवं २०१५ सालका निर्वाचित सांसद थिए । बनारसमा निर्वासित जीवनमा रहेका मामाको साथ लागेर गौतम गोरखपुर पुगे । र, एउटा साथीको सहयोगमा नेपाल फर्किए । बेखर्ची अवस्थामा रहेका वामदेवलाई टिकुरीका घमानसिंह केसीले बाग्लुङ लगे । भारतबाट फर्केपछि गौतमको बसाइ बागलुङको भीमगिठ्ठेमा भयो । बाग्लुङमै हुँदा कम्युनिस्ट पार्टीको सदस्य बने । असारे प्राथमिक विद्यालयका प्रधानाध्यापक गोविन्द केकेले उनलाई पार्टी सदस्यता दिएका हुन् । उनी फेरि प्युठान आए । मुक्ति हाइस्कुलमै ९ महिना पढेर एसएलसी दिए र उत्तीर्ण गरे । प्युठानमा कम्युनिष्ट पार्टीसँग सम्पर्क नभएपछि खर्चको जोहो गरेर भारतको मुम्बईमा पुगे । त्यहाँ जवलपुरमा १० दिनसम्म एउटा पसलमा काम गरे । त्यसपछि नेपालगञ्ज हुँदै सुर्खेत पुगे । त्यहाँस्थित रजेना प्राविको प्रअ बने । त्यहाँ पनि धेरै समय टिकेनन् र विद्रोह गरेर बर्दियातिर लागे । अन्ततः बर्दिया नै नेता गौतमको राजनीतिक कर्मथलो बन्यो । त्यहाँ उनले केही समय जिल्ला पञ्चायत कार्यालयमा मुखियाको जागिर खाए । सब इन्स्पेक्टर बनेर ‘वनजाँचे’ को जागिर गरे । कम्युनिष्ट अध्ययन केन्द्र सञ्चालन गरे । तर, गौतमको बसाई बर्दियामै स्थिर रहेन । सञ्चा कम्युनिस्ट बन्नका लागि भन्दै भारतको कानपुरमा फलामखानीमा काम गरे । त्यहाँबाट फर्केर केही समय रुपन्देहीमा बसे । राजमार्गतिर मजदुरी गर्न पाइन्छ कि भनेर काम खोजे । तर, नपाएपछि निराश बनेर फेरि भारततिरै फर्किए । भारतको असाम जान भनेर हिँडेका उनी वीरगञ्जमा निस्किए । भैंसालोटनमा एक रात बिताएर फेरि भैरहवा फर्केर रक्सी कारखानामा एक हप्तासम्म काम गरे । लुम्बिनी पुगेर बुद्धशिला र अशोक स्तम्भको पहिलोचोटि दर्शन गरे । फेरि भारत पुगेर एउटा कलेजमा तीन महिनाजति चौकीदारी गरे । अनि फेरि मजदुर बनेर कम्युनिस्ट पार्टीमा काम गर्छु भन्ने सोचेर नेपाल फर्किए । र, भैरहवाको ठुटेपिपलस्थित माछा फार्मको मुखिया बने । पक्लिहवा क्याम्पसमा भर्ना भए । यही क्रममा जीवराज आश्रति मार्फत कम्युनिष्ट पार्टीको सम्पर्कमा आए । विद्यार्थी आन्दोलन भयो, गौतम पक्राउ परे । दोस्रोपट पार्टी सदस्यता लिए । मोदनाथ प्रश्रतिले गौतमलाई पार्टी सेलमा संगठित गरे । गौतमले कम्युनिष्ट साहित्य अध्ययन गर्न थाले । सुरुमा कृषि फार्ममै काम गरे । त्यहीँ उनले सेल कमिटी गठन गरेपछि मोदनाथले उनलाई एरिया कमिटीमा बढुवा गरे । मोदनाथ पक्राउ परेपछि एरिया कमिटीका सचिव सीताराम किसान पलायन भए । र, गौतम एरिया कमिटीको सचिव बने । त्यसपछि उनले पूर्णकालीन कार्यकर्ता भएर भूमिगत बन्न पाउँ भन्दै पार्टीमा निवेदन हाले । गौतमको भूमिगत राजनीतिको औपचारिक यात्रा पाल्पाबाट सुरु भयो । तर, एक महिनापछि नै उनी रुपन्देही फिर्ता भए र सालझण्डी क्षेत्रमा खटिए । जिल्ला कमिटीमा उक्लिए । पञ्चालतकालमा गौतमले रुपन्देही, नवलपरासी र कपिलवस्तुको इञ्चार्ज भएर काम गरे । २०२७ सालतिर किसान आन्दोलन चर्किँदा उनी सोही क्षेत्रमा कार्यरत थिए । २०२९ सालपछि कार्यकर्ताहरुको भागाभाग, पलायन र विभाजन सुरु भयो । पुष्पलालको पार्टीभित्र विद्रोह भयो । २०३० सालपछि मुक्ति मोर्चा बन्यो । पुष्पलाल र तुल्सीलालवीच अन्तरविरोध चर्कियो । उनी को-अर्डिनेशन केन्द्रसँग नजिकिन थाले । सोहीबेला उनी पक्राउ परे र दुई वर्षजति जेल बसे । जेलभित्रैबाट उनले कोअर्डिनेसन केन्द्र तीनचोटि सदस्यता नवीकरण गरे । यो समूहलाई झापा विद्रोहवाला समूहका रुपमा चिनिन्थ्यो । २०३५ सालमा यो माले भयो र पछि एमाले भयो । जेलबाट निस्केपछि वामदेव गौतम नेकपा (माले) को सम्पर्कमा पुगे । सुरुमा गण्डकी-धौलागिरीको इञ्चार्ज बने । एक समय सुदुरपश्चिमको पनि इञ्चार्ज बने । वामदेव २०४६ साल भदौको चौथो महाधिवेशनबाट केन्द्रीय सदस्य बने । २०४६ सालको जनआन्दोलनका बेला मध्यपश्चिमबाट नेतृत्व गरे । र, २०४७ बैशाख ९ गतेदेखि खुल्ला राजनीतिमा आए । २०७० सालमा बर्दिया र प्युठानबाट विजयी भएका गौतमले बर्दिया छोडेर प्युठान उक्लिए । तर, २०७४ को चुनावमा उनी बर्दियाबाट हारे । २०४८ र २०५१ को चुनावमा बर्दियाबाट दुईचोटि चुनाव जितेका र पञ्चायतकालदेखि नै नारायणी पश्चिममा लोकप्रिय रहेका गौतम कसरी जनतामाझ कटिँदै गएका छन् भन्ने कुराको प्रमाण बर्दियामा व्यहोरेको चुनावी पराजय हो । जता लाग्दा पनि पूर्णरुपमा हेलिने स्वाभावका कारण नेता गौतम बढी विवादमा तानिने गरेका छन् । जस्तो- माधव नेपाल र प्रचण्ड समूहको सुरुको झम्सिखेल बैठकमा वामदेवले ओलीलाई तत्काल दुबै पदबाट हटाइहाल्नुपर्छ भनेका थिए, जतिवेला प्रधानमन्त्री ओली युरोप भ्रमणमा थिए । त्यसबेला माधव नेपालले त्यसो गर्नु हुँदैन भनेर गौतमलाई ‘स्पिड ब्रेक’ गराउनुपरेको थियो । तर, अहिले उनै गौतम अर्को किनारामा पुगेर ओलीको बचाउमा लागेका छन् । यस्तै आक्रामक भूमिकाले गर्दा गौतमलाई अहिलेको पुस्ताले अडान नभएको एवं ढुलमुले नेताका रुपमा बुझ्न थालेको हो ।
माले र मार्क्सवादीवीच एकता भएर एमाले बन्दा संस्थापक केन्द्रीय सदस्य बनेका गौतम ०४९ को पाँचौं महाधिवेशनबाट पोलिटब्यूरो सदस्य बने । ०५१ सालमा एमाले सरकारमा गएका बेला उपमहासचिव बनेर सिंगो पार्टी हाँक्ने काम गरे । तर, एमाले ९ महिने सरकारबाट सरकारबाट बाहिरिएपछि ओली समूहको दबावमा गौतमको उपमहासचिव पद खारेज भयो । त्यसबेला पार्टीभित्र वामदेवको लोकप्रियता बढेकाले ओली पक्षले अपमानित ढंगबाट गलहत्याएको गुनासो गौतमले निटस्थहरुसँग गर्दै आएका छन् । ओली समूहले उपमहासचिव पद अबैधानिक भएको बताएको थियो । २०५४ सालसम्म आइपुग्दा पार्टीभित्र वामदेव गौतम र केपी ओलीपक्षवीच दुरी बढ्दै गयो । पार्टीभित्र संस्थापन पक्ष र सीपी मैनाली पक्षवीच अन्तरसंघर्ष चर्किइरहेकै थियो । जबज पक्षमै भए पनि ओली समूहको लखेटाइमा परेका वामदेवले आफू जबजको पक्षधर हुँदाहुँदै पनि नौलो जनवादी धारका सीपी मैनालीलाई साथमा लिएर नेकपा माले बनाए । ०५६ को चुनावमा मालेले शून्य सीट हात पार्यो । ०५८ सालमा वामदेव पुनः एमालेमै फर्किए । सूत्रहरुका अनुसार त्यसबेला वामदेवलाई एमालेमा भित्र्याउन केपी ओली तयार थिएनन् । तर, तत्कालीन महासचिव माधव नेपालको अगुवाईमा गौतम समूह मातृपार्टीमा फर्कियो । एमालेमा आएपछि गौतमले माओवादीलाई शन्ति प्रक्रियामा ल्याउन भूमिका खेले । त्यसो गर्दा ओली पक्षले उनलाई माओवादी परस्त भन्दै कडा आलोचना गर्यो । आफूले ०५४ सालमा ओलीबाट धोका पाए पनि अन्ततः नवौं महाधिवेशनमा वामदेव गौतमले केपी ओलीलाई सघाएर अध्यक्षमा जिताए । संसदीय दलमा पनि झलनाथ खनाललाई हराएर ओलीलाई जिताउन वामदेवले निर्णायक भूमिका खेले । यसको साटो ओलीले संसदीय दलको नेता बनाउन वामदेवलाई दिएको वचन पूरा नगरेकोमा गौतमले चित्त दुःखाउँदै आएका छन् । त्यतिमात्रै होइन, बर्दियामा आफूले चुनाव हार्नुमा पनि अन्तरघातले काम गरेको गौतमको दाबी रहँदै आएको छ । आखिर, जति नै विरोधाभासापूर्ण सम्बन्ध रहेता पनि अहिले फेरि गौतम र ओलीवीच डिनर मिटिङहरु चल्न थालेका छन् । यसका पछाडिका प्रमुख पात्र हुन्- विष्णु पौडेल । वामदेव गौतम र विष्णु पौडेलवीचको सम्बन्ध अहिलेको होइन, धेरै पुरानो हो । विगतमा माले-एमालेवीच चर्को विवाद हुँदा पनि वामदेव र विष्णुवीच घनिष्ठता यथावतै थियो । दुबै लुम्बिनीका नेता हुन् । वामदेवले पौडेलको गृहजिल्ला पाल्पामा पनि काम गरेका छन् भने रुपन्देहीमा दुबैले सँगै काम गरेका छन् । पार्टीभित्र पूर्वेलीहरुको बोलवाला भयो भन्ने उनीहरुवीच क्षेत्रीयताले पनि काम गरेको छ । एमालेको नौ महिने सरकारका बेला वामदेव र विष्णु पौडेलको हल अझै दह्रोसँग गाँसियो । माधव नेपाल, केपी ओली सबै मन्त्री बेनका बेला यी दुबै नेता सरकारमा गएनन् । बर्दियाबाट जितेका वामदेव उपमहासचिव थिए भने पाल्पाबाट निर्वाचित पौडेलले युवा पुस्ताका कनिष्ट हुँदाहुँदै एमाले संगठन विभाग प्रमुखको जिम्मा पाएका थिए । त्यसबेला गौतम र पौडेलले देश दौडाहा गरेर संगठनमा मेहनत गरे र आफ्नो क्षितिज फराकिलो बनाए । एमाले र मालेको एकतापछि शुरुमा वामदेव गौतम केपी ओलीको पक्षमा थिएनन् । आठौं महाधिवेशनमा गौतमले झलनाथलाई सघाएका थिए । तर, नवौं महाधिवेशनमा विष्णु पौडेलले नै फकाएर गौतमलाई ओलीसँग गठबन्धन गराएका हुन् । पूर्वएमालेभित्र विष्णु पौडेल निकै चतुर एवं शक्तिशाली खेलाडी मानिन्छन् । बालुवाटारको चारआना जग्गा प्रकरणमा मुछिनुचाहिँ पौडेलको राजनीतिक जीवनमा सबैभन्दा ठूलो ‘सेटब्याक’ हो । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ दल/समूहले पार्टी एकता गरेका छन् । औपचारिक घोषणा २० गते हुँदैछ । आइतबार साँझ माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलपछि पार्टी एकता सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।
एकता सम्बन्धी सहमति पत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, ने.क.पा. माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र ने.क.पा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् । उनीहरुले पार्टीको नाम अहिले सार्वजनिक गरिसकेका छैनन् । तर चुनाव चिह्न भने ‘पाँचकुने तारा’ रोजेका छन् ।
यो तारा चुनाव चिह्न भने नेकपा माले, जनमोर्चा हुँदै पछिल्लो समय सुवास काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालले प्रयोग गर्दैै आएको थियो । त्यसैलाई एकतापछि बन्ने नयाँ दलले चुनाव चिह्न बनाउने सहमति भएको छ । एकतासँगै प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले मार्गनिर्देशक सिद्धान्त ‘माओवाद’ त्यागेको छ भने अब नाम पनि फेरिने छ । चुनाव चिह्न पनि गोलाकारभित्रको हँसिया हथौडा हुनेछैन । अर्थात् प्रचण्ड पक्षमा रहका माओवादीहरुले अब गोलाकारभित्रको हँसिया हथौडामा भोट हाल्न पाउने छैनन् । विगतको इतिहास हेर्दा तारा चुनाव चिह्न लिएका दलहरुलाई फापेको देखिँदैन । २०५३ असोजमा संसदबाट महाकाली सन्धि अनुमोदन गर्ने विषयलाई लिएर एमालेमा विवाद बढेपछि बामदेव गौतमले २०५४ सालमा सम्पन्न एमालेको छैटौं महाधिवेशनपछि पार्टी फुटाएर नेकपा माले गठन गरेका थिए । निर्वाचन आयोगबाट उनले चुनाव चिह्न तारा पाएका थिए । यही तारा चुनाव चिह्न लिएर माले २०५६ सालमा प्रतिनिधि सभा निर्वाचन लडेको थियो । २०५६ सालको निर्वाचनमा बामदेव गौतमसहितका मालेका उम्मेदवारहरुले देशभरबाट कूल ५ लाख ६७ हजार ९८७ मत पाएका थिए । त्यतिबेला यो संख्या कूल सदर मतको ६.५९ प्रतिशत थियो । तर कुनै मालेका कुनै पनि उम्मेदवारहरु निर्वाचित हुन भने सकेका थिएनन् । २०५८ सालमा वामदेव गौतम पुन: एमालेमै मिसिए । मालेलाई भने सीपी मैनाली, जगत बोगटी लगायतले सम्हाले । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपालाई सर्वोच्च अदालतले भंग गरिदिएपछि बामदेव गौतमले ‘नेकपा एकता राष्ट्रिय अभियान’ घोषणा गरे । उनले धानको बाला चुनाव चिह्न रोजे । सबै कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने बताउँदै आएका बामदेव गौतमले गत असार २ गते माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकता गरे र एकीकृत समाजवादीसँगै माओवादी केन्द्रसहितका आठ दलसँग एकतामा आएका छन् । सुरुमा बामदेव गौतमले प्रयोग गरेको तारा चुनाव चिह्न पहिलो संविधान सभा निर्वाचन, २०६४ भन्दा अगाडिसम्म जनमोर्चाले प्रयोग गर्यो । हाल जनमोर्चाको चुनाव चिह्न गिलास छ । सीपी मैनाली नेतृत्वको मालेले भने हँसिया र तारा चुनाव चिह्न प्रयोग गर्दै आएको छ । २०६७ सालमा सीपी मैनाली नेतृत्वको मालेबाट जगत बोगटी नेतृत्वको समूह अलग भयो । बोगटी नेतृत्वको दलको नाम ‘नेकपा माले समाजवादी’ र चुनाव चिह्न ‘तारा’ रह्यो । नेकपा माले समाजवादीबाट सुवास काफ्ले, डम्बरविक्रम कार्की लगायतको समूह अलग भयो । उनीहरुले ‘नेकपा माले जनसमाजवादी’ गठन गरे । तारा चुनाव चिह्न ‘नेकपा माले जनसमाजवादी’ले पायो । पछि नेकपा माले जनसमाजवादीले पार्टीको नाम परिवर्तन गरी ‘जनसमाजवादी पार्टी नेपाल’ राख्यो र चुनाव चिह्न भने तारा कायमै रह्यो । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा तारा चुनाव चिह्न भएको जनसमाजवादी पार्टी नेपालले कूल ५ हजार ९२५ भोट पाएको निर्वाचन आयोगको तथ्यांकमा देखिन्छ । उसले प्रदेशगत रुपमा सबैभन्दा धेरै मधेश प्रदेशमा २ हजार १ सय २८ मत पाएको छ । गण्डकी प्रदेशमा ६२७, कर्णालीमा ४४५, बागमतीमा १ हजार ८१०, लुम्बिनीमा १ हजार २१४, सुदूरपश्चिममा ६३७ मत पाएको विवरण छ । नेपालको राजनीतिक इतिहासमा ‘तारा’ चुनाव चिह्नको छोटो तर रोचक अध्याय छ । तारा चिह्नसँग वामपन्थी नेताहरुले नयाँ दिशाको प्रतीकको रूपमा देखाएको आशा, तर संगठनात्मक बलले नसम्हालेको कथा छ । अब यही चिह्नलाई फेरि वाम एकताको प्रतीक बनाउने तयारीमा प्रचण्ड, माधव नेपाल सहितका माधव दलहरु छन् । इतिहास दोहोरिन्छ कि नयाँ अर्थमा लेखिन्छ त्यसको उत्तर भने आउँदो चुनावले दिनेछ । ‘तारा’ चुनाव चिह्न नेपालको राजनीतिक इतिहासमा छोटो तर रोचक अध्याय हो– वामपन्थी नेताहरुले नयाँ दिशाको प्रतीकको रूपमा देखाएको आशा, तर संगठनात्मक बलले नसम्हालेको कथा । अब यही चिह्नलाई फेरि वाम एकताको प्रतीक बनाउने तयारीमा वाम दलहरु छन् । इतिहास दोहोरिन्छ कि नयाँ अर्थमा लेखिन्छ त्यसको उत्तर भने आउँदो चुनावले दिनेछ ।
Comments
Post a Comment